काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता तथा राष्ट्रिय ब्याडमिन्टन खेलाडी निता लम्साल नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नियुक्त भएकी छन्।
खुलातर्फ प्रतिस्पर्धा गर्दै लोकसेवा प्रक्रिया पार गरेपछि लम्साल प्रहरी निरीक्षक पदमा नियुक्त भएकी हुन्। खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएकी उनले अब नेपाल प्रहरीको जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन्।
विराटनगरकी लम्साललाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह (फुली) सुशोभन गराउँदै नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
१३औँ सागमा पदक जितेकी लम्साल राष्ट्रियस्तरकी चर्चित ब्याडमिन्टन खेलाडीसमेत हुन्। खेलकुदसँगै सुरक्षा सेवामा प्रवेश गरेकी उनको यो उपलब्धिलाई खेलकुद र प्रहरी दुवै क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
ब्याडमिन्टन कोर्टबाट अब प्रहरी सेवाको मैदानमा निता लम्सालको नयाँ यात्रा सुरु भएको छ।
