पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणीन्द्र प्रसाईँ गण्डकी प्रदेशकै ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले प्रसाईँलाई साउन महिनाको उत्कृष्ट प्रहरी छनोट गरेको हो ।
प्रहरी संगठनले दिएको जिम्मेवारीलाई इमानदारी, कर्तव्यनिष्ठा र उच्च व्यावसायिकताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनीय काम गरेको मूल्यांकनका आधारमा प्रसाईँलाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
एसपी प्रसाईँको नेतृत्वमा साउन महिनामा भएका विभिन्न अपराधका घटनामा संलग्न अभियुक्त पक्राउदेखि फरार अभियुक्त नियन्त्रणसम्म उल्लेखनीय सफलता हासिल भएको थियो । उनको नेतृत्वमा फरक–फरक घटनामा २ जनाको हत्यामा संलग्न ५ जना अभियुक्त तथा विभिन्न मुद्दामा फरार रहेका ५ जना पक्राउ परेका थिए ।
त्यस्तै, अवैध वन पैदावार ओसारपसारमा संलग्न २ जनालाई ३०५.३८ क्युफिट काठसहित पक्राउ गरिएको थियो । जबरजस्ती चोरीमा संलग्न ३ जना तथा अवैध लागुऔषध गाँजासहित २ जनालाई समेत प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको थियो ।
अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा अवैध गतिविधि नियन्त्रणमा देखाएको सक्रियता, कार्यसम्पादन र नेतृत्व क्षमताका आधारमा प्रसाईँलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रसाईँ प्रहरी संगठनभित्र अब्बल र व्यावसायिक अधिकृतका रूपमा परिचित छन् । जिम्मेवारी सम्हालेको क्षेत्रमा अपराध नियन्त्रणसँगै अनुसन्धानलाई प्रभावकारी बनाउने र प्रहरी परिचालनमा परिणाममुखी शैली अपनाउने अधिकृतका रूपमा उनको कार्यसम्पादनलाई हेरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती क्षेत्रीले प्रसाईँलाई उत्कृष्ट प्रहरी घोषित भएकोमा बधाई दिँदै आगामी दिनमा पनि उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न शुभकामना दिएका छन् ।
