झापा । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार साँझ झापा पुगेका छन्। बुद्ध एयरको विमानबाट भद्रपुर विमानस्थलमा अवतरण गरेका शाह छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहसहित दमकतर्फ लागेका हुन्।
भद्रपुरबाट उनी दमकस्थित हिमालय–महालक्ष्मी चिया बगान परिसरमा रहेको मिनी दरबार पुगेका छन्। पूर्वराजा शाह झापा आउँदा यही स्थानलाई बसाइको मुख्य थलो बनाउँदै आएका छन्। यसपटक उनको बसाइ भदौ १६ गतेसम्म रहने बताइएको छ।
शाहको स्वागतका लागि नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, उपाध्यक्ष बल्लवप्रसाद दाहाल, अर्जुनधाराकी सुभद्रा देवी ‘सोना’ गेलाल, विराटनगरका सन्दिप घिमिरेलगायत करिब १५ जना भद्रपुर विमानस्थल पुगेका थिए।
भ्रमणको विस्तृत कार्यक्रम भने सार्वजनिक गरिएको छैन। प्रारम्भिक विवरणअनुसार भ्रमण निजी प्रकृतिको रहेको देखिए पनि राजसंस्था समर्थक समूह तथा राजनीतिक वृत्तले उनको आगमनलाई चासोका साथ हेरेका छन्।
पूर्वराजा शाहको झापा बसाइका क्रममा विगतमा राजनीतिक दलका नेता, व्यवसायी, सामाजिक व्यक्तित्व तथा राजसंस्था समर्थकसँग भेटघाट हुने गरेको छ। यसपटक पनि त्यस्ता भेटघाट हुने सम्भावना रहे पनि कस–कससँग भेट्ने र राजनीतिक भेटघाटको कुनै औपचारिक कार्यक्रम रहेकोबारे अहिलेसम्म जानकारी सार्वजनिक भएको छैन।
झापा लामो समयदेखि राजसंस्था समर्थक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा देखिँदै आएको छ। त्यसैले पूर्वराजाको आगामी चार दिनको झापा बसाइ र उनका सम्भावित भेटघाटलाई राजनीतिक वृत्तले चासोका साथ नियाल्ने देखिन्छ।
