काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन्।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलसहित नेपाल आएका सेठसँग उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा आज राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ।
नेपाल र भारतका स्थल सेनाध्यक्षलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि रहँदै आएको छ। यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले गत मंसिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानसेनापति सिग्देललाई उक्त दर्जा प्रदान गरेकी थिइन्।
दुवै देशका सेनाध्यक्ष नियुक्त भएपछि एक–अर्काको देशमा औपचारिक भ्रमण गर्ने परम्परा पनि रहँदै आएको छ। जनरल सेठको नेपाल भ्रमणले नेपाल–भारतबीचको सैनिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्न सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।
