काठमाडौं । नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवालले आफूहरू नेपाली कांग्रेस सभापति गगन थापाको नेतृत्वमा ‘नयाँ युगको कांग्रेस’ निर्माण गर्ने यात्रामा अघि बढेको बताएकी छन्।
नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अग्रज नेताहरूको सम्बोधन सुनेपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कटुवालले नेतृत्व पदले नभई विचार, दृष्टि र साहसले स्थापित हुने बताएकी हुन्।
‘आज नेपाली कांग्रेसका अग्रज नेताहरूको सम्बोधन सुनेपछि एउटा कुरा अझ गहिरो गरी महसुस भयो। नेतृत्व पदले होइन, विचार, दृष्टि र साहसले स्थापित हुन्छ,’ उनले लेखेकी छन्।
उनले सभापति थापाको नेतृत्वप्रति सम्मान थप बढेको उल्लेख गर्दै कठिन परिस्थितिमा समेत लोकतन्त्र, रूपान्तरण र पुस्तान्तरणको पक्षमा दृढतापूर्वक उभिएको नेतृत्वसँग आफूहरू रहेको बताएकी छन्।
‘आदरणीय सभापति गगन थापा, तपाईंप्रतिको सम्मान आज झन् उचाइमा पुगेको छ। कठिन समयमा पनि लोकतन्त्र, रूपान्तरण र पुस्तान्तरणको बाटोमा दृढतापूर्वक उभिएको नेतृत्वसँग हामी छौँ भन्न पाउनु आफैँमा गर्वको विषय हो,’ उनले भनेकी छन्।
कटुवालले कांग्रेस गगन थापाको नेतृत्वमा रहेको मात्र नभई नयाँ युगको कांग्रेस निर्माण गर्ने अभियानमा आफूहरू पनि थापाको नेतृत्वसँगै रहेको बताएकी छन्।
कांग्रेसको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापति निर्वाचित भएका थिए। उक्त निर्णयलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको संयुक्त इजलासले सदर गरिसकेको भए पनि निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शशांक कोइराला पक्षीय समूहले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको छ।
संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा समेत नेताहरूले सभापति थापाले पार्टी विधान मिचेको आरोप लगाउँदै आलोचना गरेका छन्। यसैबीच सर्वोच्च अदालतको पूर्ण इजलासले मुद्दामा पुनरावलोकनको अनुमति दिएपछि कांग्रेसभित्रको नेतृत्व विवाद पुनः अदालतमा पुगेको छ।
अब दुवै पक्ष सर्वोच्च अदालतको अन्तिम फैसलाको प्रतीक्षामा रहेका छन्।
