काठमाडौं । सार्वजनिक लेखा समितिमा रहेर राज्यको आर्थिक हिसाब–किताबबारे प्रश्न उठाउँदै आएका खगेन्द्र सुनारले राज्यमा रहेको बेरुजु, भ्रष्टाचार र अनियमितताबारे कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै सुनारले राज्यमा १ हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा आफूहरूले अझै ‘तितो बोल्न’ बाँकी रहेको बताएका छन्।
उनले सार्वजनिक लेखा समितिमा रहेर आफूहरूले जनताको पक्षमा आवाज उठाउनुपर्ने भन्दै भनेका छन्, ‘हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका–नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ।’
सुनारले ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम’ कसैले न कसैले लिनुपर्ने भन्दै त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुनुपर्ने धारणा समेत व्यक्त गरेका छन्।
हिजो उठेको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा समाप्त नहुने उनको भनाइ छ। आफू राष्ट्रसेवक प्रहरी, सिपाही तथा दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव रहेको उल्लेख गर्दै उनले गरिब परिवारका छोराछोरीले लगाउने जुत्ता–मोजा, रासनलगायतका सामग्रीमा भएको भनिएको अनियमिततामाथि प्रश्न उठाएका छन्।
‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन। जुत्ता लगाउने हो- खाने होइन,’ सुनारले लेखेका छन्।
उनको उक्त अभिव्यक्तिले प्रहरी संगठनभित्रका आर्थिक अनियमिततासम्बन्धी विषयमा थप बहस सिर्जना गरेको छ।
यद्यपि, उनले उल्लेख गरेका बेरुजु तथा आर्थिक अनियमिततासम्बन्धी दाबी र आरोपको तथ्य तथा सम्बन्धित निकायको आधिकारिक धारणा भने पुष्टि हुन बाँकी छ।
