सिरहा । मन्दिरमा बोका चढाउने विषयमा भएको विवादले निम्त्याएको हत्याकाण्डमा अदालतबाट एक वर्ष कैद सजाय सुनाइएका ८० वर्षीय ठकाई यादव ४३ वर्षपछि पक्राउ परेका छन्।
रोचक संयोग त के छ भने, उनलाई कैद सजाय सुनाउने तत्कालीन अञ्चल अदालतका न्यायाधीश मीनबहादुर रायमाझी पछि नेपालको १९औँ प्रधानन्यायाधीश बनेर अवकाशसमेत लिइसकेका छन्। सर्वोच्च अदालतको अभिलेखअनुसार रायमाझीले २०६६ वैशाख २५ देखि मंसिर २८ गतेसम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५, साविक खरुकियाही गाउँ पञ्चायत–४ का यादवलाई प्रहरीले बिहीबार स्थानीय शिव मन्दिरबाट पूजारीको भेषमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
यो घटना २०४१ साल वैशाख १ गते नयाँ वर्षको अवसरमा राजदेवी मन्दिर परिसरमा लागेको मेलाको हो। मन्दिरमा बोका चढाउने विषयमा विवाद भएपछि मौजेलाल यादवको योजनामा भारतबाट समेत पहलवान बोलाएर स्थानीय रजिन्द्र यादवलाई घेरा हालेर कुटपिट गरिएको र गम्भीर घाइते भएका रजिन्द्रको उपचारका क्रममा मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख छ।
घटनापछि तत्कालीन खरुकियाही गाउँ पञ्चायत–४ का बालेश्वर यादवको जाहेरीका आधारमा मुख्य योजनाकार मौजेलाल यादव र मतियार ठकाई यादवसहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
तत्कालीन जनकपुर अञ्चल अदालतका न्यायाधीश रायमाझीको इजलासले २०४६ साल पुस २५ गते फैसला गर्दै मौजेलाल यादवलाई २० वर्ष र ठकाई यादवसहित अन्य मतियारलाई एक वर्षसम्म कैद सजाय सुनाएको थियो।
तर फैसला कार्यान्वयन हुन सकेन। १२ जना प्रतिवादी नै फरार भए। समय बित्दै जाँदा उनीहरूमध्ये अधिकांशको मृत्यु भयो- कोही नेपालमै बिते, कोही भारतमा। अन्ततः पक्राउ पर्ने बेला ठकाई यादव नै उक्त मुद्दाका अन्तिम जीवित प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
फैसलापछि केही समय लुकेर बसेका ठकाई बहुदलीय व्यवस्था पुनःस्थापनापछि गाउँ फर्किएको र आफ्ना बाबुले गर्दै आएको मन्दिरको पूजारीको जिम्मेवारी सम्हाल्दै आएको प्रहरीको भनाइ छ। चार दशकभन्दा बढी समयसम्म प्रहरीको खोजी सूचीमा रहेका उनी अन्ततः आफूले सेवा गर्दै आएको धार्मिक स्थलबाटै पक्राउ परेका हुन्।
पुरानो मुद्दा पुनःखोतल्ने क्रममा भने एउटा जग्गा रोक्का प्रकरणले बाटो खोलेको थियो। फरार प्रतिवादीमध्ये हेमनारायण चौधरीका भाइ आफ्नो दाजुको कारण जग्गा रोक्का भएको भन्दै प्रहरीमा पुगेपछि पुरानो मुद्दाका अभिलेख खोज्ने काम अघि बढेको थियो।
अभिलेख अध्ययन र फैसला यकिन गर्ने क्रममा ठकाई यादव जीवितै रहेको र गाउँमै पूजारीका रूपमा बस्दै आएको खुलेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।
अन्ततः प्रहरी निरीक्षक मल्लको नेतृत्वमा गरिएको निरन्तर अभिलेख अध्ययन, पुराना फैसला र प्रहरी रेकर्डको मिलान तथा खोजतलासपछि ४३ वर्ष पुरानो कर्तव्य ज्यान मुद्दाका अन्तिम जीवित प्रतिवादी पक्राउ परेका हुन्।
यस घटनाले एउटा रोचक न्यायिक संयोगसमेत उजागर गरेको छ- २०४६ साल पुस २५ गते ठकाईलाई कैद सजाय सुनाउने तत्कालीन अञ्चल अदालतका न्यायाधीश रायमाझी त्यसको दुई दशकपछि नेपालको १९औँ प्रधानन्यायाधीश बने।
चार दशकपछि पक्राउ परेका ठकाईलाई आवश्यक प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
