काठमाडौं । गायिका तथा पुर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) लाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत संगठनको गरिमा र प्रहरीको मनोबल जोगाउन नेतृत्वले दृढ अडान लिनुपर्ने धारणा व्यक्त गरेकी छन्।
वलीले फेसबुकमा स्ट्याटस लेख्दै नेपाल प्रहरी केवल एउटा संगठन नभई राज्यको कानुन, जनताको भरोसा र राष्ट्रको सुरक्षाको प्रतीक भएको उल्लेख गरेकी छन्। उनले प्रहरी संगठनको इतिहास, गौरव र जनविश्वासलाई नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन्।
उनले आईजीपीलाई सम्बोधन गर्दै बर्दी लगाएर भावनामा कमजोर देखिनुभन्दा बर्दीको गरिमा र संगठनको मनोबल जोगाउने अडान देखाउन आग्रह गरेकी छन्। ‘टाउको कमजोर भयो भने शरीरले दिशा पाउँदैन, नेतृत्व कमजोर देखियो भने सिपाहीको मनोबल कमजोर हुन्छ,’ वलीले लेखेकी छन्।
भदौ २४ पछिको परिस्थितिलाई स्मरण गर्दै उनले कठिन अवस्थामा पनि प्रहरी संगठनले साहस र नेतृत्व प्रदर्शन गरेको उल्लेख गरेकी छन्। साथै, पुरानो बर्दी र जुत्ता लगाउनुलाई हीनताबोधका रूपमा नभई राष्ट्र सेवासँग जोडिएको गौरवका रूपमा लिनुपर्ने उनको भनाइ छ।
वलीले आईजीपीलाई व्यक्ति मात्र नभई नेपाल प्रहरीको संस्थागत प्रतिष्ठाको जिम्मेवारी बोकेको नेतृत्वका रूपमा प्रस्तुत गर्दै जवानलाई बलियो बनाउने नेतृत्व गर्न आग्रह गरेकी छन्।
उनले नेपाल प्रहरी कुनै व्यक्ति, दल वा सरकारको निजी सम्पत्ति नभएको उल्लेख गर्दै यो राष्ट्र र जनताको संस्था भएकाले कानुन तथा बर्दीको सम्मान गर्नु सबैको कर्तव्य भएको बताएकी छन्।
वलीको उक्त फेसबुक स्ट्याटसलाई उनले ‘आईजीपीलाई पत्र’ शीर्षकमा सार्वजनिक गरेकी हुन्।
