कैलाली । श्रीमती र दुई छोरीलाई छाडेर करिब सात महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी सहायक हवल्दार प्रेम मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलालीको घोडाघोडी बस्ने एक महिलासँग प्रेम सम्बन्धमा रहेका मौनी प्रहरीकै दबाबपछि भारतको बैङ्लोरबाट फर्किएको खुलेको छ। उनी इलाका प्रहरी कार्यालय मालाखेतीमै कार्यरत रहेका बेला परिवारलाई छाडेर सम्पर्कविहीन भएका थिए।
मौनीकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनी भारतबाट फर्किएको बताइएको छ। तर, उनीहरूबीचको विवाद समाधान नभएपछि मौनीलाई समेत इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मौनीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ भइरहेको छ। उनी लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको र भारतको बैङ्लोरमा बस्दै आएको प्रारम्भिक जानकारीबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
