काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीको स्वागत गर्दै उनको सुस्वास्थ्यको कामना गरेका छन्।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकको सुरुवात गर्दै सभापति थापाले देउवालाई नेपालमा स्वागत गरेका हुन्।
बिहीबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक र देउवाको स्वदेश आगमनको समय एकै परेको थियो। बैठकको सुरुवातमै थापाले भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालमा स्वागत छ, उहाँको सुस्वास्थ्यको कामना गर्दछु।’
गत फागुनमा भएको निर्वाचनको पूर्वसन्ध्यामा उपचारका लागि विदेशिएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि देउवा कुनै राजनीतिक भेटघाट नगरी सोझै आफ्नो निवासतर्फ लागेका थिए।
सानेपामा गत आइतबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको आगामी राजनीतिक तथा सांगठनिक रणनीतिसहित विभिन्न विषयमा छलफल भइरहेको छ।
