काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
खरेलले सुनारको शैलीले संसदीय निगरानीभन्दा बढी संस्थामाथि दबाब सिर्जना गर्ने र सस्तो लोकप्रियताका लागि प्रदर्शन गर्ने प्रवृत्तिको आभास दिएको टिप्पणी गरेका छन्।
खरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै कहिले प्रहरी उपरीक्षक (एसपी) लाई कार्यालयबाटै नियन्त्रणमा लिएर घिसार्दै काठमाडौं ल्याउने चेतावनी दिने, त कहिले गृहसचिवदेखि प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सम्मलाई संसदीय समितिमा उभ्याएर प्रमाणअघि नै दोषीझैँ प्रस्तुत गर्ने शैली देखिएको बताएका छन्।
उनले अनुसन्धान पूरा नहुँदै कसैलाई बर्खास्त गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिने तथा कानुनी प्रक्रियालाई गौण ठान्ने किसिमका अभिव्यक्तिले संस्थागत मर्यादामाथि प्रश्न उठाएको बताएका छन्।
‘यस्तो कार्यशैलीले संसदीय निगरानीभन्दा बढी संस्थामाथिको दबाब र सस्तो लोकप्रियताका लागि गरिने प्रदर्शनको आभास दिन थालेको छ,’ खरेलले लेखेका छन्।
प्रहरी र कर्मचारी प्रशासनका लागि मनोबल नै महत्वपूर्ण हुने उल्लेख गर्दै खरेलले आफ्नो सर्वस्व छोडेर निष्ठाका साथ देश र जनताको सेवामा खटिएका कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो सार्वजनिक रूपमा अपमानित गर्ने प्रवृत्ति उचित नभएको बताएका छन्।
उनले निष्कर्ष नआउँदै सम्पूर्ण नेपाल प्रहरी संगठनलाई भ्रष्टाचारको पर्यायझैँ चित्रित गर्दा अन्तर्राष्ट्रिय स्तरसम्म प्रहरीको संस्थागत छविमाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।
‘यस्तो संवेदनशील विषयमा राजनीतिक अभिव्यक्ति होइन, कानुनी प्रक्रिया बोल्नुपर्छ,’ खरेलले भनेका छन्, ‘यदि आरोप प्रमाणित हुने आधार छन् भने सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाओस्, आवश्यक कारबाही गरोस्। तर अनुसन्धानभन्दा पहिले सार्वजनिक रूपमा चरित्र हत्या गर्नु न सुशासन हो, न न्याय।’
खरेलले आईजीपी दानबहादुर कार्की दशकौँको सेवा र व्यावसायिक यात्रापछि प्रहरी प्रमुखको जिम्मेवारीमा पुगेको स्मरण गराउँदै कुनै पनि अधिकारीको सम्पूर्ण करिअरलाई प्रमाणित निर्णयबिना सार्वजनिक आरोपका आधारमा निष्कर्षमा पुर्याउनु न्यायसंगत नहुने बताएका छन्।
संसदीय समितिमा आफ्नै सहकर्मी तथा समितिका सभापतिले समेत कार्यशैलीप्रति प्रश्न उठाउँदा आत्मसमीक्षा गर्नुको सट्टा आवेशमा प्रतिक्रिया जनाएर बैठक छाड्ने व्यवहारले परिपक्व नेतृत्वको सन्देश नदिने खरेलको टिप्पणी छ।
लोकतन्त्रमा सरकार तथा सुरक्षा निकायलाई कडा प्रश्न गर्नु आवश्यक भए पनि त्यस्ता प्रश्न विधि, प्रमाण र संस्थागत मर्यादाभित्र रहनुपर्ने उनले बताएका छन्। चर्को स्वर, उत्तेजक अभिव्यक्ति वा सार्वजनिक प्रदर्शनबाट सुशासन स्थापित नहुने भन्दै खरेलले विधिको शासन, संस्थाप्रतिको सम्मान, प्रमाणमा आधारित जवाफदेहिता र जिम्मेवार राजनीतिक संस्कृतिबाट मात्रै सुशासन कायम हुने बताएका छन्।
खरेलले रास्वपाले आफूलाई सुशासन, जवाफदेहिता र संस्थागत सुधारको पक्षधर दलका रूपमा प्रस्तुत गर्दै आएकाले सांसद सुनारको कार्यशैलीबारे पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
उनले सुनारसँग आवश्यक स्पष्टीकरण माग्नुपर्ने र सांसदहरूको आचरण, अभिव्यक्ति तथा संसदीय मर्यादाप्रति दलले उत्तरदायित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्। अन्यथा सुशासनको प्रतिबद्धता नारामै सीमित हुने उनको टिप्पणी छ।
खरेलले नेपाल प्रहरीको नेतृत्वमाथि उठेका आरोपको सत्यतथ्य छानबिन र कानुनी प्रक्रियामार्फत टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। साथै उनले आईजीपी कार्कीले उठाएको ‘आखिर कस्ताबाट शासित भइरहेका छौं, हामी?’ भन्ने प्रश्नलाई समेत गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
