काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी नेतृत्व वा सुरक्षा संगठनसँग सम्बन्धित बेनामी उजुरी तथा आरोपहरू संसद वा संसदीय समितिमा प्रस्तुत गर्दा शिष्टता, तथ्य र संसदीय मर्यादाको ख्याल गर्नुपर्ने बताएका छन् ।
बुधबार सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा प्रहरी नेतृत्व र संगठनसँग सम्बन्धित विषय उठाएको सन्दर्भमा स्कुपखबरसँग कुराकानी गर्दै खनालले सुरक्षा संगठन प्रमुख तथा संगठनको हुर्मत लिने किसिमको प्रवृत्तिबाट जोगिनुपर्ने बताएका हुन् ।
खनालले बेनामी उजुरी वा आरोपका विषय संसदमा उठाउनै नहुने नभए पनि त्यसलाई प्रस्तुत गर्ने शैली र आधार महत्वपूर्ण हुने बताए । प्रश्न उठिसकेपछि सम्बन्धित पक्षले जवाफ दिनुपर्ने भए पनि आरोप लगाउने पक्षले समेत त्यसको पुष्टि गर्ने आधार प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
‘बेनामी उजुरीको सन्दर्भमा पनि प्रस्तुत गर्दा शिष्टता र संसदीय मर्यादाका साथ गर्न जरुरी हुन्छ,’ खनालले भने, ‘सुरक्षा संगठन प्रमुखको र संगठनको हुर्मत लिने चेष्टा यस्तो प्रवृत्तिबाट नगर्दा राम्रो हुन्छ।’
उनले सांसदहरूले आफूलाई प्राप्त ‘माननीय’ शब्दको गरिमा र त्यससँग जोडिएको जिम्मेवारीलाई समेत ख्याल गर्नुपर्ने बताए । संसदमा उठाइने प्रश्नले सम्बन्धित व्यक्ति तथा संस्थाको प्रतिष्ठामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तथ्य र प्रमाणका आधारमा विषय उठाउनुपर्ने खनालको धारणा छ ।
खनालले प्रहरी नेतृत्वमाथि प्रश्न उठेमा त्यसको जवाफ दिन नेतृत्व तयार हुनुपर्ने बताए । तर, आरोप लगाउने पक्षले पनि आफूले उठाएको विषय पुष्टि गर्न सक्ने आधार प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
‘प्रश्न उठिसकेपछि जो भए पनि जवाफ दिनुपर्छ,’ खनालले भने, ‘तर आरोप लगाएर मात्रै उम्किन मिल्दैन।’
उनले संसद जनप्रतिनिधिको गम्भीर थलो भएकाले त्यहाँ प्रस्तुत हुने विषयले संसदीय मर्यादा र संस्थागत प्रतिष्ठालाई कमजोर बनाउने अवस्था सिर्जना गर्न नहुनेमा जोड दिए ।
खनालको यस्तो धारणा सांसद सुनारले लेखा समितिमा प्रहरी संगठन तथा नेतृत्वबारे गरेको टिप्पणीको सन्दर्भमा आएको हो ।
यसअघि पूर्वआईजीपी रविन्द्र प्रताप साहले पनि सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदले आफ्नो पदको गरिमा र संसदीय मर्यादा कायम राख्नुपर्ने बताएका थिए ।
