काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन, प्रहरी महानिरीक्षक (आईजीपी) तथा प्रहरी अधिकृतहरूबारे दिएको अभिव्यक्तिप्रति पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रविन्द्र प्रताप साहले आपत्ति जनाएका छन् ।
साहले सामाजिक सञ्जालमार्फत सुनारको अभिव्यक्तिलाई लक्षित गर्दै सांसदहरूले संवेदनशील विषयमा बोल्दा संयमित र जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
उनले सांसद आफैंमा कार्यकारी अधिकारयुक्त पद नभए पनि गरिमामय पद भएकाले त्यसको मर्यादा संसद, राजनीतिक दल र स्वयं सांसदले कायम राख्नुपर्ने धारणा राखेका छन् ।
संसदीय व्यवस्थामा विपक्षी दलका सांसदसमेत संयमित हुनुपर्ने उल्लेख गर्दै साहले सत्तारुढ दलका सांसदले झनै जिम्मेवार भएर अभिव्यक्ति दिनुपर्ने बताएका छन् ।
‘माननीय खगेन्द्र सुनारले हालै लेखा समितिमा बिना प्रमाण प्रहरी संगठन, प्रहरी महानिरीक्षक र प्रहरी अधिकृतहरूविरुद्ध दिनुभएको अभिव्यक्ति’लाई उदाहरणका रूपमा प्रस्तुत गर्दै साहले यस्ता अभिव्यक्ति संविधान, सम्बन्धित राजनीतिक दल र स्वयं गरिमामय संसदकै निम्ति घोर अपमान भएको टिप्पणी गरेका छन् ।
साहले संसदमा उठाइने विषय तथ्य र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । कुनै संस्था वा व्यक्तिमाथि प्रमाणबिना आरोप लगाउने प्रवृत्तिले संसदीय मर्यादामाथि नै प्रश्न उठाउने उनको भनाइ छ ।
यस्ता अभिव्यक्ति दिने सांसदलाई संसद, सम्बन्धित राजनीतिक दल र संसदीय दलले समयमै जिम्मेवार बनाउनुपर्ने पूर्वआईजीपी साहले बताएका छन् ।
‘संख्याको लोभमा’ यस्ता गतिविधिलाई बेवास्ता गरिए सरकार र सत्तारुढ दलको लोकप्रियता थप तीव्र गतिमा ओरालो लाग्ने उनको चेतावनी छ ।
साहको यो टिप्पणी सांसद सुनारले लेखा समितिमा प्रहरी संगठन र प्रहरी नेतृत्वबारे गरेको अभिव्यक्तिप्रति लक्षित देखिन्छ ।

