प्रहरीको मनोबल बढाउन ‘कमेडी नाइट विथ च्याम्पियन्स’को विशेष ट्रिब्युट एपिसोड, आईजीपी कार्की विशेष अतिथि
काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ ले नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड प्रसारण गर्ने भएको छ। कार्यक्रमको सिजन-२ अन्तर्गत तयार गरिएको एपिसोड-६० पूर्ण रूपमा नेपाल प्रहरी केन्द्रित रहने बताइएको छ।
कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीका अनुसार पछिल्ला विभिन्न घटनाक्रमपछि प्रहरी संगठनको मनोबल उच्च बनाउने तथा प्रहरी कर्मचारीहरूको योगदानप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले विशेष एपिसोड निर्माण गरिएको हो।
विशेष एपिसोडमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा देशभरका विभिन्न युनिटबाट आएका एक सयभन्दा बढी प्रहरी कर्मचारी पनि बर्दीसहित उपस्थित रहेको जनाइएको छ।
एपिसोडमा कलाकारहरूले प्रहरी जीवनका विभिन्न पाटोलाई हास्य र व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्। ड्युटीका क्रममा भोग्नुपर्ने चुनौती, पारिवारिक जिम्मेवारी, सेवाको दबाब तथा समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले निर्वाह गर्ने भूमिकालाई केन्द्रमा राखेर विभिन्न प्रस्तुति तयार गरिएको छ।
कार्यक्रमको अध्यक्षता चर्चित कलाकार तथा निर्माता दीपाश्री निरौलाले गरेकी छन्। कार्यक्रममा सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, मेक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई र कर्मा सिंह लामालगायत कलाकारहरूले प्रस्तुति दिएका छन्।
आयोजकका अनुसार यो एपिसोडले नेपाल प्रहरीको समर्पण, त्याग र सेवाभावप्रति सम्मान प्रकट गर्नुका साथै संगठनभित्र सकारात्मक सन्देश र ऊर्जा प्रवाह गर्ने विश्वास लिइएको छ। प्रहरीमाथि केन्द्रित यो विशेष एपिसोड आगामी मंगलबार प्रसारण हुने जनाइएको छ।
