काठमाडौं । बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको छ। यो नाकाबाट अवैध रूपमा सामान ओसारपसार भइरहेको र यसमा इलाका प्रहरी कार्यालय छतवा र मुहरवाका प्रहरीको मिलेमतो रहेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय प्रसौनी मातहत पर्ने छतवा र मुसहर्वा नाकाबाट देश र जनताको सुरक्षामा खुटिने प्रहरीले नै तस्करीको साम्राज्य खडा गर्न सघाएको भन्दै स्थानीयले गम्भीर आक्रोश व्यक्त गरेका छन् ।
प्रसौनीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) टुपेन्द्र श्रेष्ठको ठाडो निर्देशनमा नीति विपरीत घुमुवाका रूपमा परिचालन गरेको र तस्करहरूसँग मोटो रकम असुली गरिरहेको स्थानीयको आरोप छ ।
प्रहरी निरीक्षक श्रेष्ठले मेरो आफ्नो ब्याजी नै एसपी हो भन्ने डरत्रास समेत देखाउने गरेको आरोप छ । जसकारण जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर इन्स्पेक्टर श्रेष्ठ अगाडि निरीह बनेका छन् ।
प्रहरी प्रधान कार्यालय र प्रहरी नेतृत्वले बारम्बार तस्करी नियन्त्रण गर्ने आदेश दिएपनि प्रसौनीका इन्स्पेक्टर श्रेष्ठले उक्त आदेशको धज्जी उडाउँदै भारतीय बजार रक्सौलबाट तस्करहरुलाई खुलेआम धमाधम सामान नेपाल भित्र्याउन दिइरहेका छन् ।
बाराका नामुद तस्कर सद्वामले ठूलो परिमाणमा सुटिङ–सर्टिङ कपडा, भोला मियाले जिउँदो कुखुरा र चन्दनले मोटरसाइकलका पार्टपुर्जादेखि कपडा नेपाल भित्र्याउने काम गरिरहेको बताइन्छ । यस्तै अन्य दर्जनौँ तस्कर समूहले काजु, किसमिस, हार्डवेयर, सुर्ती, चप्पल, जुत्ता र रजनीगन्धा जस्ता सामग्रीहरू रातिको समयमा मोटरसाइकलमार्फत निर्वाध रूपमा नेपाल भित्र्याइरहेका छन् ।
यस्तै मुसहर्वा नाकाबाट तस्कर तमनाले हार्डवेयर, कमलेशले कपडा, उज्वल ग्रुपले किराना सामग्रीदेखि काजु किसमिस चकलेट, अन्होतीले दाल, जिरा, धनिया, सलमानले कपडा र दिपक यादवले कपडा निर्वाध रुपमा नेपाल भित्र्याइरहेका छन् ।
सरकारले सर्वसाधारणका लागि एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियममा कडाइ गरिरहँदा, छतवा र मुसहरवा नाकामा छतवा चौकीका घुमुवा फुल सरिफको ‘लाइन सेटिङ’का कारण राजस्वमा ठूलो गिरावट आइरहेको छ।
यस्तै इन्स्पेक्टर श्रेष्ठको घुमुवाको रुपमा कार्यरत छन् जवान मन्जित यादव । उनले मातहतका प्रहरी युनिटहरुमा गएर चौकी इन्चार्जहरुसँग मिलेर तस्करीहरुलाई सघाउने गरेको आरोप छ।
जसले गर्दा स्थानीय बासिन्दा समेत प्रहरी प्रशासनप्रति झन् रुष्ट बनेका छन् ।
यस्तै बाराको बलिमापुर र बरैनिया नाकाबाट पनि नेपाल प्रहरीको मिलोमतोमा व्यापक तस्करी भइरहेको बताइन्छ ।
