काठमाडौं । सर्लाही प्रहरीले २ जना ‘मोस्टवान्टेड’ भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलीसहित पक्राउ गर्न सफल भएको छ ।
विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार प्रदेश जिल्ला सितामढी थाना सैयारा ग्राम सैयाराका २८ वर्षीय सन्नी कुमार सिंह र सोही ठाउँका मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् ।
उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले केही राउण्ड गोली प्रहार गरेको थियो । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको बताइएको छ ।
भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ ।
आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोली चलाएको थियो । सो मध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको हो । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा ५ वटा मुद्दा विचाराधीन रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए ।
भारतीय आपराधिक समूह नेपालमा छिरेर विभिन्न आपराधिक घटना घटाउन थालेपछि प्रहरीले सिमा सुरक्षा कडा पारेको एसपी ज्ञवालीले बताए । उनले भने, पछिल्लो समय सर्लाही प्रहरी हाइअलर्टमा छन् ।
घटनाको विषयमा सर्लाही प्रहरीले मंगलबार बिहान साढे ९ बजे पत्रकार सम्मेलन जानकारी दिएको थियो ।
