काठमाडौं । माघ २२ गते सुस्मा लामा घरबाट कलेज निस्केकी थिइन् । तर, साँझ घर फर्किनन् । परिवारले आफन्तहरुको घर, कोठामा गएको होला भन्ठानेर प्रहरीमा खबर गरेनन् । खोजीकार्य जारी गरेपनि भोलिपल्टसम्म उनी घर आइनन् ।
२३ गते एक्कासी सुस्माले प्रयोग गर्ने सुस्मा मंगोलियन नाम गरेको फेसबुक आईडीमा एउटा अनौठो पोष्ट सार्वजनिक भयो । जुन पोष्टमा बेहुला-बेहुलीको कपडा लगाएको फोटो थियो ।
बेहुला-बेहुलीको कपडा लगाएको फोटोसँगै क्याप्सन लेखिएको थियो, ‘सरी सबैलाई, ३ दिनमा म आउँछु ।’ बेहुलाको फोटोमा अनुहार छोपिएको थियो भने बेहुलीको छोपिएको थिएन । त्यसपछि उक्त फेसबुक डिएक्टिभ गरियो ।
यता, परिवार सुस्मा तीन दिनमा फर्किने भन्दै आश्वस्त भएर बसे । तर नफर्किएपछि परिवारले माघ २२ गतेदेखि सुस्मा हराएको भन्दै २५ गते प्रहरी वृत्त बौद्धमा खोजतलासको भन्दै निवेदन दिए ।
आफन्तले निवेदन दिएपछि प्रहरीले खोजीकार्य जारी गर्यो । तर, २६ गते सुस्माको दिदी विन्दाको मोबाइलमा अर्को म्यासेज आयो । जसमा लेखिएको थियो, ‘मान्छेहरू पनि कस्ता हुन्छन्, मलाई नखोज्नु भनेको हैन किन प्रहरीमा जानु परेको होला ?’
त्यसपछि झनै परिवारलाई चिन्ता बढ्यो । कतै सुस्माको हत्या त भएन ? परिवारका सदस्यसँग मिलेर प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णको टोलीले सुस्माको व्यापक खोजीकार्य जारी राख्यो । एक महिनासम्म सुस्माको केही पत्ता लागेन् ।
तर, फागुन २४ गते गोकर्णेश्वर नगरपालिका-३ तारेभिरमा घाँस काट्न गएका स्थानीहरूले खाल्डोबाट हात निस्केको शव देखे । तत्कालै प्रहरीलाई खबर गरे । नजिकैको प्रहरी टोली पुगेर उक्त शव उत्खनन गर्दा सुस्माको पुष्टि भयो ।
‘तीन दिनमा आउँछु’ भनेर फेसबुकमा सूचना राखेकी सुस्माको शव पुष्टि भएपछि परिवारदेखि प्रहरीले उनको हत्या भएको आशंका गरे । तर, उनको हत्या कसले किन गर्यो ? प्रहरी थप अनुसन्धानमा जुट्यो ।
‘अपरेशन तारेभिर’ नाम दिएर मुख्तयः घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालय काठमाडौंको टोली खटियो । नभन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुस्माको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भयो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न स्थानीय युवक गोकर्णेश्वर नगरपालिका ३ का २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

प्रहरीको सुक्ष्म अनुसन्धान र उच्च प्रविधिको सहयोगमा मृतक सुस्माको हत्यामा संलग्न अभियुक्तलाई उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको विशेष टोलीले पक्राउ गर्न सफल भएका हो, कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले बताए ।
प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपी लामाले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी घिमिरेले बताए । उनले भने–‘आरोपीले सुस्मालाई पटक–पटक प्रेम प्रस्ताव राखेको खुलेको छ ।’ आरोपी लामाले विगत ८ महिनादेखि सुस्मालाई मन पराएको पाइएको छ ।
मृतक सुस्मा र आरोपी लामा सँगै घाँस काट्नदेखि बाख्रा चराउन जंगलमा समेत गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच फोन सम्पर्क नभएर भेटेको बेला मात्र कुराकानी हुने गरेको थियो ।
८ महिनादेखि सुस्मासँग ‘एकोहोरो प्रेम’ मा परेका लामाले उनको हत्या गर्न ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसेको कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका आरोपी रुपेन्द्र लामा ।
माघ २२ मा बिहान सुस्मा एक्लै कलेज गएको अवस्थामा बाटो ढुकेर उनले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुस्मालाई पछाडिको भागबाट घाँटीमा अँठ्याएपछि पनि लामाले प्रेम प्रस्ताव राखेको र नमानेपछि आक्रमण गरेर हत्या गरेको देखिन्छ, एसएसपी राठौरले भने ।
८ दिनदेखि सुस्मा कलेज जाने बाटोमा कुरेर मौका हेरेका लामाले योजनाबद्ध रूपमा ४ दिन अघिदेखि झोलामा फलामको कुटो बोकेर रेकी समेत गरेका थिए । हत्यापछि कुटोले खाल्डो खनेर पुरेको एसएसपी राठौरले बताए ।
हत्या गरेको ठाउँभन्दा १० मिटर तल हात बाँधेर सुस्माको शव पुरेका थिए । हत्या गरेर करिब ४५ मिनेटमा आरोपीले शव व्यवस्थापन गरेर नजिकै रहेको घरमा फर्केका हुन् ।
१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्माको शव हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट उत्खन्न गरेको थियो ।
त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ सुस्माको हत्या गरेको देखिएको छ ।
