काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको रासनभत्ता महंगीअनुसार बढाउन प्रस्ताव अघि बढाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले यससम्बन्धि प्रस्ताव अघि बढाएका हुन् ।
आईजीपीको प्रस्तावअनुसार रासनभत्ता वृद्धि भएमा अहिलेभन्दा करिब दोब्बर पाउँछन् । उपत्यकामा हाल प्रहरीले दैनिक २०१ रुपैयाँ पाउँदै आएकोमा ३९५ रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ ।
अहिलेको महंगीअनुसार प्रहरीलाई २०१ रुपैयाँले दुई छाक भात र एक पटक खाजा खान ज्यादै अपुग रकम हो ।
प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत जिल्ला दररेटअनुसार राशनभत्ता बढाउन माग गरिएको छ । जसअनुसार हरेक जिल्लामा महंगीको वास्तविक अवस्थाअनुसार प्रहरीले राशनभत्ता पाउनेछन् ।
गृह मन्त्रालयले यससम्बन्धि प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ । तर, अर्थ मन्त्रालय सकारात्मक नरहेको बताइएको छ ।
प्रहरीमा राशनभत्ता नबढेको दुई वर्ष भएको छ। त्यसअघि पनि १५ प्रतशित मात्र बृद्धि भएको थियो । दिनमा १८ घन्टासम्म डिउटीमा खटिने सुरक्षाकर्मीलाई खान पुग्ने राशनभत्ता समेत दिन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।
