काठमाडौं । प्रहरी संगठनभित्र अहिलेसम्म कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएर अघि बढिरहेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर प्रहरीको तल्लो तहसम्म निक्कै लोकप्रिय छन् ।
स्वच्छ छवि, भद्र र शालिन स्वभावका कुँवर अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने, तल्लो दर्जाका प्रहरीलाई सधैं माया गर्ने र उनीहरुको मर्म तथा पीडा बुझ्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।
कार्य सम्पादन क्षमता, दक्षता र नेपाल प्रहरीको छवि उच्च बनाउन खेलेको भूमिका तथा सकारात्मक सोंच भएका कुँवरले गरेका काम कारबाहीको उच्च मूल्यांकन गर्दै सरकारले २०७९ चैत ११ गते उनलाई प्रहरी नेतृत्वको जिम्मेवारी सुम्पेको थियो ।
प्रहरी महानिरीक्षक भएपछि कुँवरका पछिल्ला काम कारबाही निक्कै लोकप्रिय, प्रहरी मैत्री र जनपक्षीय रहेको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) भीम प्रसाद ढकालले बताए ।
सिनियर अधिकृत, जुनियर अधिकृत र जवान, हवल्दारलाई एउटै व्यवहार गर्छन् प्रहरी महानिरीक्षक कुँवर । तल्लो दर्जाको प्रहरीहरुको माग सम्बोधन हुन नसकेको तथा यसबाट प्रहरी जवान र हवल्दारहरुको मनोबलमा नकारात्मक असर पर्ने गरेको भन्दै संगठनभित्र कुँवर उनीहरुको माग सम्बोधनको लागि निकै लागिपरेका छन् ।
जवान तथा हवल्दारहरुको १६ वर्षे पेन्सनअवधी हुनुपर्ने माग छ । नेपाल प्रहरीमा प्रहरी नियमावली, २०७१ जारी हुनुअघि प्रहरी नियमावली, २०४९ मा प्रहरी जवान र प्रहरी हवल्दार दर्जामा १६ वर्ष सेवावधि पूरा गरे पश्चात पेन्सन पाउने व्यवस्था थियो ।
जब प्रहरी नियमावली, २०७१ जारी भयो, उक्त नियमावलीको नियम १३१ मा पेन्सन सम्वन्धी नयाँ व्यवस्था गरियो । उक्त व्यवस्थाअनुसार २६ चैत २०६० पछि नियुक्त हुने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई २० वर्ष अवधिसम्म प्रहरी सेवामा काम नगरी पेन्सन सुविधा नपाउने अवस्था सिर्जना भयो ।
उक्त कानूनी व्यवस्था लागू भएपछि तल्लो दर्जाको प्रहरी कर्मचारीमा ठुलो नैराश्यता देखिन पुग्यो । जसको कारण हजारौं प्रहरी कर्मचारीहरुले राजीनामा दिन बाध्य भए । अहिले पनि राजीनामा दिनेहरुको कमी आएको छैन ।
त्यसमा निकै चासो राखेका प्रहरी महानिरीक्षक कुँवर जवानको पेन्सनअवधि १६ वर्ष जसरी पनि लागू गर्ने पक्षमा रहेका डिआईजी ढकालले बताए । ‘यस विषयमा चिफ सापले तालुक मन्त्रालयका मन्त्रीसँग पटक पटक छलफल गरिरहनुभएको छ,’ डिआईजी ढकालले भने ।
यसरी तल्लो दर्जाका प्रहरीको मागलाई सम्बोधन गर्न मन्त्रीसँग छलफल गरेर प्रक्रिया अघि बढाएपछि उहाँ निक्कै लोकप्रिय बनेका हुन् । उहाँको यो कदमको प्रहरीको तल्लै तहसम्म निक्कै प्रशंसा भएको छ ।
तर, तल्लो तहका प्रहरी कर्मचारीहरुको पेन्सनअवधी १६ वर्ष हुन्छ कि हुँदैन भनेर प्रश्न खडा नै छ । सेवा प्रवेशको १६ वर्षमै निवृत्तिभरण (पेन्सन) को माग राखेका प्रहरीका जवानहरुको गुनासो सुन्नुपर्ने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत नैतिक दबाब छ ।
तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको मागलाई सम्बोधन हुने गरी आगामी आउने प्रहरी ऐनमा समेट्ने गरी प्रहरी महानिरीक्षक कुँवर लागिपरेको डिआईजी ढकाल बताउँछन् । उनले भने, ‘सम्भवत १६ वर्षे पेन्सनअवधीको कुरा पनि सोही ऐनमा समेटिनेछ । यसमा चिफसापको निकै चासो छ ।’
ड्युटीमा खट्ने कुनै पनि अधिकृत र जवानको मनोबल खस्कने ढंगले जिम्मेवारीमा हस्तक्षेप नगर्ने प्रहरी महानिरीक्षक कुँवरको दृढ प्रतिबद्धता र त्यही अनुसार मातहतका निकायलाई स्पष्ट निर्देशन छ ।
प्रहरी सधैँ पीडित पक्षधर भएर काम गर्नुपर्ने नागरिक मैत्री उनको कदमको सधैं प्रशंसा भइरहन्छ । सरकारको प्रतिनिधित्व गर्ने राज्य संयन्त्रहरूमा प्रहरी नै पहिलो प्रतिनिधि पात्र भएकाले निष्पक्ष र भेदभावरहित अनुसन्धान, बोली व्यवहारमा नम्रता, शिष्टता एवं व्यवसायिक भएर काम गर्नु पर्ने कुँवरको मुलमन्त्र छ ।
नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट दराउने कार्यमा उनको महत्वपूर्ण भूमिका रहेको छ । विभिन्न आपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने हुनाले त्यसतर्फ सचेत रहेर त्रुटिरहित जिम्मेवारी बहन गर्नुपर्ने उनको स्पष्ट निर्देशन छ ।
पूर्वप्रहरी संगठन नेपालका अध्यक्ष बसन्त कुँवरले अवलम्बन गरेको भ्रष्टाचारमा शून्य सहनशिलता, उच्च कमाण्ड, शान्ति सुरक्षाको अवस्था सुधारमा खेलेको महत्वपूर्ण भूमिका, सरकारको सुशासन र सुरक्षाको प्रतिवद्धतामा साथ दिएकै कारण उनलाई प्रहरी संगठनको नेतृत्व दिइएको बताए ।
उनले आईजीपी कुँवरलाई सरकारको समृद्ध नेपाल र सुखी नेपालीको प्रतिबद्धतामा साथ दिन सक्ने प्रहरी अधिकृतका रुपमा व्याख्या गरे ।
कुँवर हेर्दा जति नरम र सालिन हुनुहुन्छ्, उहाँको काम गर्ने शैली भने भिन्न छ । कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रँदै समाजमा व्याप्त गुण्डागर्दी र चोरी तस्करी नियन्त्रण गरेर चर्चामा आउने प्रहरी अधिकारी मध्ये उहाँ पनि एक हुनुहुन्छ ।
