काठमाडौं । बसन्त बहादुर कुँवर अहिले ८० हजार बढी प्रहरी फौजको नेतृत्वमा छन् । उनलाई संगठनभित्र र संगठन बाहिरकाले मितव्ययी र सरल व्यक्तिको रुपमा बुझ्छन् ।
भद्र र नरम बोलीचालीकै कारण उनलाई जवानदेखि सहकर्मीहरुले सम्मान गर्छन् । उनलाई नजिकबाटै नियालिरहेका उनका एक सहकर्मी भन्छन्, ‘अब प्रहरीमा बसन्त सा’पजस्तो अर्को व्यक्ति महानिरिक्षक बन्दैन ।’
प्रहरी संगठनमा सकभर आफ्ना सहकर्मीको प्रशंसा कसैले पनि गर्दैन । एकले अर्कोलाई पछि पार्दै नेतृत्व हत्याउने दाउमा लागेका एउटै ब्याचले त बिरलै आफ्ना सहकर्मीको प्रशंसा गर्छन् ।
प्रहरी संगठनको नेतृत्व पाएपछि कुँवरको तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीले समेत खुलेरै प्रशंसा गरेका थिए । जबकी नेपाल प्रहरीको इतिहासमा यो विरलै घटना हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालेपछि कुँवरले पहिलो काम आफ्नो मातहतका सम्पूर्ण प्रहरी युनिटलाई निष्पक्ष तबरबाट ढुक्कसाथ अनुसन्धान गर्न निर्देशन दिए ।
आईजीपी कुँवरलाई वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पूर्ण समर्थन छ । अहिले त्यहि भएर निर्धक्क रुपमा प्रहरीले अनुसन्धान गर्न पाइरहेको अवस्था छ ।
कुँवरको सचिवालयमा काम गरिरहेका एक प्रहरी अधिकृतका अनुसार कामबाहेकका व्यक्तिहरु भेट्न कमै आउने गरेका छन् । कहिलेकाहिँ त एकजना पनि गेष्ट नआउने गरेको ती अधिकृत बताउँछन् ।
प्रहरी बढुवामा पैसाको खोलो बग्ने गरेको त सार्वजनिक पदमै रहेका बेला तत्कालीन महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी रमेश खरेल (हाल अवकाश प्राप्त (डीआईजी) ले बोलेका थिए ।
कुँवरको व्यक्तित्व र कार्यशैली
– शालिन र भद्र
– कसैको आस र त्रासमा नबस्ने
– भ्रष्टाचार शुन्यसहनशीलतामा अडिग
– सबैको गुनासो सुन्ने
– सहभागीतामूलक नेतृत्व
– सबै जिम्मेवार बनाउने
– कार्यनीति योजनासहितको कार्य
– प्रहरीको व्यवहार, व्यवसायिकता
– कर्मचारीको मनोबल उच्च राख्ने
फौजमा पैसाले पद खरिद गर्ने परिपाटीको विकास गणतन्त्र आएपछि मौलाएको बताइन्छ । राजाको शासनमा राजाले जसलाई मन पराउँथे उसैलाई बढुवा र नेतृत्व प्रदान गर्थे । तर, पछिल्लो समय प्रहरीमा आर्थिक लेनदेनको कुरा धेरै आइरहेको हुन्थ्यो ।
जब कुँवर आईजीपी भए त्यस्तो कुनै आर्थिक लेनदेनको कुरा समेत आएको छैन । महानिरीक्षक हुनुअगाडि आफ्ना शुभेक्षुकसँग कुँवरले भनेका थिए, ‘नियमले मलाई नियुक्ति गर्नुपर्ने हो । पावर सेयरिङ हुँदै जाँदा पैसा मागियो भने मलाई महानिरीक्षक बन्नु छैन ।’

प्रहरी आफैँमा एउटा पावर (शक्ति) हो । त्यही भएरै सरकारले आफू अनुकुल काम गर्नेलाई महानिरीक्षक बनाउँछ । डीआईजी बढुवासमेत उनी आफ्ना ब्याचमा एक नम्बरमा थिए ।
अहिले पनि प्रहरी संगठनमा राम्रो पोष्टिङ पाउन र बढुवामा माथि आउन राजनीतिक फेरो समात्ने प्रवृत्ति हावी छ । तर, कुँवरले त्यसलाई केही हदसम्म रोक्न सफल भएका छन् । जसको उदाहरण पछिल्लो सरुवा-बढुवा हो ।
०००
कुँवरले आफ्नो कार्यकालमा लामो समयदेखि रोकिएका सरुवा-बढुवा भटाभट गरिरहेका छन् । भलै कुनै सरुवा-बढुवा कारणवश रोकिएपनि समग्रमा उनको कार्यकालमा थुप्रै सरुवा-बढुवा भएको छ । प्रहरी करियरमा यो अत्यावश्यक मानिन्छ ।
उनी आफ्नो विगतको करियरलाई स्मरण गर्दै मातहतकालाई निर्देशन दिँदै भन्छन्, ‘पैसा कमाउने भए व्यापार व्यवसाय गर्नोस् । संगठनमा रहँदासम्म कानुनले दिएको अधिकारलाई अक्षरक्ष पालना गर्नोस् ।’
कुँवरलाई लाग्ने आरोप
– राजनीतिक हस्तक्षेपमा मौन
– छिट्टै अरुलाई विश्वास गर्ने
उनीमाथि भित्रभित्रै संगठनकै केही अधिकृतले गुनासो गर्छन् । सिधै कुँवरलाई भन्न नसकेपनि धेरैको एउटै गुनासो छ । पैसा (घुस) नखाँदैमा सबै कुराले आईजीपी ठिक हो त ? आर्थिक पारदर्शितामा कुनै र कसैसँग पनि सम्झौता नगर्ने बताउँदै आएका कुँवरले मातहतमा कसरी नियन्त्रण गर्न सकेका छन् ? प्रश्न यहाँ तेर्सिन्छ ।
कुँवरको कामलाई नजिकबाट नियाली रहेका एक प्रहरी अधिकृत भन्छन्, ‘गलत आचरण भएका जुन दर्जाका भए पनि कारबाही गर्न उहाँ पछि हट्नुहुन्न ।’ कुँवरले प्रहरी नेतृत्व लिएपछि यहाँसम्म आईपुग्दा दर्जनौं प्रहरी कर्मचारीमाथि कारबाहीको डण्डा चलेको छ ।
भ्रष्टाचार शून्य सहनशीलता (जेरो टलरेन्स) मा कुँवर अडिक छन् । त्यो उनको कार्यशैलीले समेत देखाउँछ । संगठनभित्रै र बाहिरकाले पनि आर्थिक पारदर्शिताका कुरामा प्रश्न उठाउन सकेका छैनन् ।
उनको धेरै र ठूला राजनीतिक सञ्जालसँग सम्बन्ध छैन । सत्य, सेवा र सुरक्षणम् मूल नारा भएको प्रहरी संगठनलाई आफ्नो कार्यकालमा केही न केही दिन सकेमात्रै आफू सफल नेतृत्व हुने उनको विश्वास छ ।
