काठमाडौं । मंगलबार साँझ हात्तीगौंडास्थित आफ्नै निवासबाट पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गरिएको हो ।
पाँचजना व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि बम्जन फरार थिए । त्यसैले बम्जनलाई प्रहरीले लामो समयदेखि निगरानीमा राखेको थियो । मंगलबार पनि सीआईबीले पक्राउ गर्ने बेलामा उनी झ्यालबाट हाम फालेर भाग्न खोजेका थिए ।
तर, मंगलबार साँझ ७ः१५ बजेतिर सीआईबीले उनलाई बुढानीलकण्ठ–६ स्थित निजी निवासबाट पक्राउ गर्न सफल भएको हो । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई पक्राउ गरिएको बताइन् ।
पछिल्लो समय ब्यूरोले बम्जनको खोजीका लागि उनका केही आश्रमहरुमा समेत ‘सर्च अपरेशन’ समेत चलाएको थियो, तर उनी भेटिएका थिएनन् । दुई दिनअघि मात्र उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँस्थित आफ्नो निवासमा रहेको सूचना सीआईबीले पाएको प्रमुख बज्राचार्यले जानकारी दिइन् ।
सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ चलाएर बम्जनलाई पक्राउ गर्न सफल भएका हौं ।

विलासी जीवनशैली
आफूलाई तपस्वी बताउँदै आएका बम्जन विलासी जीवन बिताउँदै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले करोडौं मूल्यका गाडी र लाखौं मूल्यका मोटरसाइकलहरु प्रयोग गर्ने गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिइएको छ ।
सम्मेलनमा प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएको जानकारी दिँदै सीआईबी प्रमुख बज्राचार्यले बम्जनले ल्यान्डक्रुजर जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको बताइन् ।
बम्जनले आफ्नो प्रयोगका लागि धुम्बाराहीमा रहेको कम्पनीलाई ल्यान्डक्रुजर किन्नका लागि ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेको अनुसन्धानबाट खुलेको छ, बज्राचार्यले भनिन्, ‘आफैं चढ्नका लागि बम्जनले ५ करोड मूल्यबराबरको सेतो रङको ल्यान्ड क्रुजर बुक गरिसकेको पाइएको छ ।’
बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ । उनको निवासबाट मोटरसाइकलका ३ थान बिलबुक, टोयोटा हाइलक्स गाडीको साँचो बरामद भएको छ ।
करोडौं रुपैयाँ घरमै भेटियो
यस्तै सीआईबीले बम्जनलाई पत्रकार सम्मेलनमा सार्वजनिक गर्दैगर्दा उनको अगाडि विदेशी मुद्रासहित करोडौँ नेपाली पैसाको थुप्रो पनि देखाइएको थियो । अवैधरुपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको छन् भन्ने सूचना पहिला नै सीआईबीलाई प्राप्त भएको थियो ।
सोही क्रममा बम्जनको घरबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ समेत बरामद भएको सीआईबीले जनाएको छ । जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरका १७ देशका विदेशमी मुद्रा थिए ।
यस्तै निजको साथबाट विभिन्न ब्राण्डका १४ थान मोबाइल, पाँच थान ल्यापटप र ट्याब, बीस वटा पेनड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री पनि बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

आलिसान घर
पक्राउ परेका बम्जनको परिवार हात्तीगौंडास्थित बसोबास गर्दै आइरहे पनि उनी बेला बेला मात्र आउजाउ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, उनको घरको संरचना धेरै खर्च गरेर बनाइएको बम्जनलाई पक्राउ गर्न पुगेका एक प्रहरी अधिकारी बताउँछन् ।
घर भित्रसमेत सोही प्रकृतिको संरचना खडा गरेर बस्दै आएका बम्जनको चारतले घरको सबैभन्दा माथिल्लो तलामा उनले जिमखाना खोलेको बताइएको छ । बम्जनले घरभित्र बिहान बेलुका जिम गर्ने गर्थे ।
एट्याच बाथरुमसहितको उनको सुत्ने कोठा छ । उनी आफू घरको तेस्रो तलामा बस्दै आएका थिए । उनको सुत्ने कोठादेखि भान्सा कोठासम्मको डेकुरेसन हेर्दा करोडौं रुपैयाँ खर्च गरेर बनाएको बताइन्छ ।
बम्जनको बयान : बाहिरी संसारको मतलब छैन
सीआईबीले पक्राउ गरेर ल्याएलगत्तै उनीमाथि सोधपुछ गरेको थियो । तर, प्रहरी अधिकारीसँगको बयानमा बम्जनले आफू तवस्वी र गुरु भएकाले बाहिरी संसारबारे कुनै जानकारी नै नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले सोधपुछ गर्ने प्रहरी अधिकारीसँग भनेका छन्, ‘मलाई किन यस्तो आरोप लाग्यो ? मलाई थाहा छैन । खासमा प्रहरीले मलाई खोजेको बारेमा पनि बेखबर छु । म जीवन दर्शन कोरेर बस्ने मानिस हुँ ।’
उनले सिन्धुलीको आश्रममा चलाउने मोबाइल नम्बर र दुई दिनअघि बूढानीलकण्ठ क्षेत्रमा एक्टिभ भएको देखिएको थियो । सोही लोकेसनको आधारमा प्रहरी उनको हात्तीगौडास्थित घरसम्मै पुगेको हो ।
०००
बम्जनलाई थप कारवाहीका लागि सर्लाही जिल्ला अदालत पठाइएको छ । उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता भएको छ । उनीमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ । जिल्ला प्रहरीले कार्यालय सर्लाहीले २०७६ माघ २४ गते बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो ।
प्रहरीका अनुसार हालसम्म बम्जनले चारजना अनुयायीलाई बेपत्ता पारेको उजुरी छ । २०६९ मा नुवाकोट मेघाङ गाउँपालिका–३ का २९ वर्षीया चिनिमाया तामाङ, २०७१ माघमा मकवानपुरकी ३० वर्षीया फुलमाया रुम्बा, सोही सालको चैतमा मकवानपुरका ५१ वर्षीय सञ्चलाल बाइवा र ०७२ मा बाराका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता पारेको उजुरी प्रहरीमा छ ।
सीआईबीका अनुसार थप अनुयायीहरू बेपत्ता भएको भन्ने सूचना आएकाले उनीहरूका बारेमा पनि खोजी भइरहेको जनाएको छ ।
बम्जन ‘लिटिल बुद्ध’का नामले समेत चर्चित थिए ।
