काठमाडौं । नेपाल प्रहरीमा अनुसन्धानका हिसाबले विशेष रुपमा हेरिने ब्यूरो हो, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) । गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने भूमिकामा रहेकाले प्रहरी संयन्त्रभित्र यसको नेतृत्वलाई विशेष महत्वका साथ हेरिन्छ ।
ठूला आर्थिक आपराधिक मुद्दादेखि जघन्य र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने अधिकार सीआईबीको जिम्मामा हुन्छ । प्रहरी महानिरीक्षक (आईजीपी) सँग प्रत्यक्ष जोडिएर यसको अनुसन्धान हुनेगर्छ । त्यसैले पनि धेरै ब्यूरो प्रमुखको नजरमा सीआईबी पर्नेगर्छ ।
पछिल्लो ९ महिनायता सीआईबी प्रमुख छिन् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य । सीआईबीको इतिहासमा पहिलोपटक ब्यूरोको नेतृत्व गर्ने महिला प्रहरी हुन् बज्राचार्य । त्यसो त बज्राचार्य नेपाल प्रहरीको आईजीपीको दाबेदारीमा रहेकी पहिलो महिला समेत हुन् । तर, उनी आईजीपी बन्न भने सकिनन् ।
देशको विभिन्न अति संवेदनशील ठाउँमा बसेर चुनौती सामना गर्दै काम गरेकी बज्राचार्यको ९ महिने कार्यकालमा सीआईबीमा धेरै महत्वपूर्ण कामहरु भएको छ । नक्कली डाक्टरहरुलाई पक्राउ गर्नेदेखि चर्चित ललिता निवास प्रकरणमा सीआईबीले सफलता हात पारेको बताइन्छ ।
यस्तै गत कात्तिकमा चितवनमा जुटको बोरामा भेटिएको शवको पहिचान नखुलेपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो । उक्त घटनामा समेत सीआईबीले ४६ दिनपछि सफलता हात पारेको छ । यसरी गहन र जघन्य अपराधहरुमा सीआईबीको अनुसन्धानको तारिफ हुने गरेको छ ।
६० किलो सुन तस्करीको समेत सफल अनुसन्धान सकेर सीआईबीले फाइल बुझाएपछि केही भिआईपी व्यक्तिहरु पुर्पक्षका लागि जेल चलान भएका छन् । बज्राचार्यको ठाउँमा अन्य कोही एआईजी प्रमुख भएको भए यो घटनामा ठूला व्यक्तिहरु सफाइ पाउने चर्चा समेत थियो । तर, यो घटनामा सीआईबीको तारिफ भएको छ ।
त्यसैगरी चर्चित बालुवाटार जग्गा प्रकरणमा समेत बज्राचार्यको साहसको कारण भाग्ने आशंका गरिएका व्यक्तिहरुलाई पक्राउ गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरुको समेत सीआईबीले बयान लियो । जसमा संलग्न व्यक्तिहरु हाल थुनामै छन् भने बाँकी केही व्यक्तिहरु सीआईबीको निगरानीमै रहेको स्रोत बताउँछ ।
त्यतिमात्र नभएर सीआईबीले मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा समेत सफलता हात पारेको छ । एआईजी बज्राचार्यको निर्देशनपछि सीआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्म भण्डारीको टोलीले हत्यामा संलग्न आरोपीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
सीआईबीको टोलीले नेपालमा अपराध गरेर विदेशमा लुकेर बसेका केही व्यक्तिहरुलाई समेत पक्राउ गरेर नेपाल ल्याएको अवस्था छ । यसरी पछिल्लो समय धमाधम काम गरिरहेको सीआईबीलाई आईजीपी बसन्त बहादुर कुँवरको समेत पूर्ण साथ सहयोग रहेको बताइन्छ ।
यस्तै सीआईबी मातहतको निकाय लागूऔषध नियन्त्रण ब्यूरो, मानव बेचबिखन अनुसन्धान ब्यूरो र साइबर ब्यूरोले समेत आ आफ्नो क्षेत्राधिकार पर्ने कामहरुमा सफलता हासिल गरिरहेका छन् । जसकारण पछिल्लो समय सीआईबी प्रमुख रहेकी बज्राचार्यको टिम अपराधन अनुसन्धान नियन्त्रणमा रातदिन नभनी खटिरहेको छ ।
को हुन् बज्राचार्य ?
नेपाल प्रहरीभित्र चर्चित रहेकी बज्राचार्य संगठनमा अब्बल प्रहरी अधिकारीको रुपमा परिचित छिन् । प्रहरी सेवा प्रवेशदेखि महिला भएर पनि काममा अब्बल बज्राचार्य प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदा नै काठमाडौंको सुरक्षा चुनौतिबारे जानकार प्रहरी अधिकृत हुन् ।
डिएसपी हुँदा बज्राचार्यले प्रहरी वृत्त ठिमी, प्रहरी प्रधान कार्यालय बालबालिका तथा सेवा निर्देशनालय प्रमुख र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहँदा पर्यटक प्रहरी काठमाडौंको प्रमुख भएर काम गरेको अनुभव छ ।
त्यस्तै हक्की स्वभावकी बज्राचार्यसँग प्रहरी उपरीक्षक (एसपी) हुँदा मधेस प्रदेश ट्राफिक प्रमुख बारा पथलैया, प्रहरी प्रधान कार्यालयको इन्टरपोल विभाग, जिल्ला प्रहरी कार्यालय भक्तपुरको प्रमुख रहेर काम गरेको अनुभव छ । यस्तै इन्टरपोलमा रहँदा उनले उत्कृष्ट कार्यसम्पादन गरेकी थिइन् ।
बज्राचार्यसँग प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको काम गरेको अनुभव छ । त्यस्तै, बरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा ललितपुर प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय उपत्यका प्रहरी कार्यालय रानीपोखरीको अप्रेसन कमाण्डर रहेर काम गरेको अनुभव उनीसँग छ ।
उनै बज्राचार्य सीआईबीमा कार्यरत रहँदा अमेरिकी विदेश मन्त्रालयको सन् २०१६ को ‘टीआईपी रिपोर्ट हिरो’ मा समेत परेकी थिइन् । जतिबेला बज्राचार्यले मानव तस्करहरुको ठूलो गिरोहलाई पक्रन सफल भएकी थिइन् ।
