काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्य क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने पटक पटक बताउँदै आएका छन् । तर, जिल्ला प्रहरी परिसर, ललितपुर प्रमुखविहिन भएको एकहप्ता बितिसक्दा पनि गृहमन्त्री श्रेष्ठले एकजना राम्रो अधिकृत भेट्न सकेका छैनन् ।
ललितपुर प्रहरी प्रमुखमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हुन्छन् । प्रहरी संगठनमा सयौंको संख्यामा एसएसपी बहाल रहँदा पनि गृहमन्त्री श्रेष्ठले एकजना सक्षम, इमान्दार र व्यवासायीक प्रहरी अधिकृत नभेट्नु चाहिँ आश्चर्यको कुरा हो । उनले त्यहाँ पठाउन राम्रा प्रहरी अधिकृत भन्दा पनि विवादित प्रहरी अधिकृत खोजेको सरुवा ढिलाईबाटै प्रष्ट हुन्छ ।
गत शुक्रबार कमजोर क्षमताका कारण बालकुमारी घटना हुन पुगेको भन्दै त्यसकै भोलिपल्ट ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहसहित त्यहाँ कार्यरत अप्रेसन कमाण्डर प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश लम्साललाई कारबाही गरिएको थियो । लम्सालको ठाउँमा डिएसपी सुधीर राईको सरुवा भएपनि एसएसपी शाहको ठाउँमा अहिलेसम्म कोही कसैलाई पठाइएको छैन ।
ठाउँ खाली हुँदाहुँदै पनि सात दिनसम्म ललितपुरमा एसएसपी पठाउन नसक्नु गृहमन्त्री श्रेष्ठको कमजोर क्षमता हो । स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठ त्यहाँ आफूअनुकुलको व्यक्तिलाई पठाउन चाहेका छन् । तर, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर मानिरहेका छैनन् । जसले गर्दा बढुवा प्रक्रियामा ढिलाई भएको स्रोतको दाबी छ ।
ठाउँ खाली हुने बित्तिकै प्रहरी प्रधान कार्यालयले ललितपुर पठाउनको लागि केही एसएसपीको नाम गृहमन्त्री श्रेष्ठसमक्ष सिफारिस गरेको थियो । सिफारिस गरिएको नाम सिनियरअनुसार रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । सिफारिसमा ओम राना, दिनेश आचार्य, राजेन्द्र भट्ट, जिवन कुमार श्रेष्ठलगायत एसएसपीहरुको नाम रहेको बताइन्छ ।
तर, गृहमन्त्री श्रेष्ठ जुनियर एसएसपीहरुलाई ललितपुरको इन्चार्ज बनाएर पठाउन लागिपरेको बताइन्छ । त्यसमा पनि विगतमा विवादित रहेका एसएसपीलाई उनले इन्चार्ज बनाएर पठाउन खोजेको स्रोतको दाबी छ । जसकारण आईजीपी कुँवरले अडान लिँदा ललितपुरले सात दिनसम्म एसएसपी नपाएको हो ।
एसएसपी सरुवा गृहमन्त्रीस्तरीय निर्णयबाट हुन्छ । जसमा गृहसचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेका एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (सदस्य सचिव) रहने व्यवस्था छ । सोकारण पनि गृहमन्त्री श्रेष्ठले तत्कालै निर्णय गर्दा आईजीपीले रोक्ने हुँदा सरुवा गर्न नसकेका हुन् ।
गृहमन्त्रीले मात्र नभएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपुत्री गंगा दाहालले समेत ललितपुर प्रहरी प्रमुखमा चासो देखाएको बताइन्छ । उनीहरुले समेत आफुअनुकुलका व्यक्तिलाई ललितपुर पठाउन दबाब दिएपनि आईजीपी कुँवरले आफ्नो अडान छोडेका छैनन् ।
जुनसुकै हालतमा ललितपुरमा सक्षम र इमान्दार व्यक्ति ललितपुर जानेमा आईजीपी कुँवर विश्वस्त छन् ।
