काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी गएपछि ललितपुरको बालकुमारीमा घटना भएको बताएका छन् ।
सोमबार बिहान राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले मन्त्री नगएको भए साद घटना नहुने बताउका हुन् । ‘मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो । त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन,’ उनले भने, ‘उपत्यकामा मन्त्रीकै सुरक्षामा कमजोरी नहोस् भनेर प्रहरी अगाडि बढ्ने क्रममा घटना भएको छ । प्रहरी पुग्दासम्म त गाडी जलिसकेको अवस्था थियो ।’
कोरियाली भाषा परीक्षामा सहभागी हुन नपाएको विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु भएको थियो ।
घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै भौतिक पूर्वाधार तथा यात्रायात मन्त्री प्रकाश ज्वाला सरकारी गाडीमा आगजनी भएको थियो ।
११:५२ बजे मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केर बालकुमारीको ओभर बिज्र नजिकै आएर रोकिएको उनले बताए । ‘पीएसओले समस्याबारे रुट क्लियर छ कि छैन भन्ने समन्वय भएन,’ बैठकमा उनले भने, ‘भिडमा आएर गाडी रोकियो ।’
उनले गोली कतिबेला चल्यो भन्ने यकिन नभएको बताए । ‘गोली कतिबेला चल्यो यकिन भएको छैन । १२:४० मा सुजन रावतको छातिमा चोट लागेको र किष्ट अस्पतालमा साढे १ बजे मा मृत घोषित भएको हो,’ उनले भने, ‘१२.४२ मा विरेन्द्र साह १३.३७ मा मृत घोषणा गरेको देखिएको छ ।’
