आईजीपी साब
सादर नमस्कार, जय नेपाल
सबैभन्दा पहिला सरल शिष्ठ र समन्वयकारी अधिकृतको आफ्नो परिचयलाई अक्सर मान्छेहरुले भुँइ भुल्ने पदमा पुग्दा पनि कायम राख्नु भएकोमा धन्यवाद दिन चाहन्छु ।
अव तपाईंले आईजीपी हुँदा गर्नुभएका, गर्न खोज्नुभएका र गर्दै रहनुभएका कामहरुको बारेमा तपाईंको कार्यकाल पश्चात नै विस्तृत चर्चा गरौँला किनकि अहिले त्यसो गरेर चाकरी गरेको पो हो कि भन्ने मिथ्या आशंका गर्नेलाई नै किन ठाउँ दिनु ?
त्यसै पनि प्रमुख पदमा रहेर के कस्ता काम भए र त्यसका परिणाम कस्ता रहे भन्ने विषयमा लेख्ने वा बोल्ने काम कार्यकाल सकिएपछि नै गरेको राम्रो र अर्थपूर्ण पनि हुन्छ ।
त्यसैले पदमा रहुन्जेल त बेठिक हुँदा आलोचना अनि बेठिक हुन खोजेको हो कि भन्ने लाग्दा खबरदारी नै सहि होला जस्तो लाग्छ ।
त्यसैले अहिलेलाई नेपाल प्रहरी संगठन भित्रभित्रै फैलिएको तर तपाईंसम्म सायदै आइपुग्ने त्रास, गनगन र आशंकाको बारेमा यहाँलाई अवगत गराउंदै ति सबैलाई खारेज गराउँदै इतिहास निर्माणको लागि आग्रह गर्न खोजेको हो ।
त्यो के भने अहिले नेपाल प्रहरीको एसपी अझै खासमा डिएसपी पदमा रिक्त पद थोरै अनि बढुवाका आकांक्षी धेरै भएकाले खुसी हुने भन्दा रिसाउने ज्यादा हुने डरले बढुवा नै पो नगरिने हो कि भन्ने प्रहरी संगठनभित्र रहेको आम चिन्ता र चासो हो ।
हो विगतमा धेरै पटक प्रहरीमा थोरै सिट खाली हुँदा बढुवा नै नगर्ने र कुर्ने गरिएकोले त्यो चिन्ता हुनु अनुचित हैन ।
तर अब त्यस्तो चासो चिन्ता अनि त्यसमा आधारित उचित अनुचित दौडधुप बन्द गर्नुपर्छ र त्यसो गर्न सबैभन्दा पहिला आईजीपी साब नै दृढता साथ रिक्त स्थानमा योग्यता क्षमता अनुसार जो जो हुनुपर्ने हो त्यसलाई गर्ने र अरुलाइ सोहि अनुसार जबजब खाली हुन्छ तब बढुवा गर्ने नीति लागू गर्न अगाडी बढ्नुपर्छ ।
हो त्यसो गर्दा तत्काललाई कतिपय मानिसहरु पक्कै रिसाउलान तर जब विस्तारै प्रहरीमा दरबन्दी रिक्त हुने बित्तिनै तत्काल बढुवाको परम्परा बस्छ तब तिनैले भन्नेछन्, ‘बसन्त कुँवर साबले सुरु गरेको हो यो । नत्र पहिला त कस्तो नराम्रो सिस्टम थियो आफ्नाको पालो नआई बढुवा नै नगर्ने । बल्ल पो ठिक भएको छ ।’
हो आइजीपी साब आँट गर्नुस्, जहाँजहाँ जुन पदमा जति सिट खाली छ त्यसमा योग्यता क्षमता र संगठनको आवश्यकताअनुसार जसलाई गर्नपर्छ त्यसलाई बढुवा गर्नुस ।
त्यसो गर्नु नै उचित हुनेछ मात्रै हैन त्यो कानुनी पनि हुनेछ । किनकि सम्मानित सर्वोच्च अदालतले स्पष्ट रुपमा भनेकै छ, दरवन्दी खाली हुँदाहुँदै बढुवा नगरी राख्ने काम नगर्नु भनेर ।
हालका माननीय गृहमन्त्री र गृहसचिवज्यू सकारात्मक काममा कहिँकतै भाँजो नहाल्ने बरु सघाउने स्वभावको हुनुहुन्छ भन्ने तथ्यले देखाएको यस समयमा आशा छ कि आम अनुमानलाई हावा खुवाउँदै संगठन प्रमुख हुनु भएर इतिहास बनाइसक्नु भएका श्रद्धय आईजीपी साबले आम आशंका र चिन्ताहरुलाई दुर गराउँदै रिक्त दरबन्दीहरुमा बढुवा हुन जो जो योग्य हुन उनीहरुको बढुवा गर्न आवश्यक पहलकदमी लिनु हुनेछ ।
धन्यवाद !
लेखक : राधाकृष्ण देउजा
