काठमाडौं । विवादित प्रहरी पृष्ठभूमि बोकेका विश्वराज पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ओखलढुंगाबाट टिकट दिएको विषयले राजनीतिक बहस तातेको छ।
नेपाल प्रहरीमा रहँदा नै पटक–पटक विवादमा तानिएका पोखरेलको राजनीतिक प्रवेशले रास्वपा भित्र र बाहिर दुवैतर्फ गम्भीर प्रश्नहरू जन्माएको छ। सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको नारा बोकेर उदाएको दलले विवादित पृष्ठभूमि भएका पात्रलाई उम्मेदवार बनाउनु आफैंमा विरोधाभासका रूपमा हेरिएको छ।
पोखरेल काठमाडौं प्रहरी प्रमुख रहँदा व्यवसायी अनिल गजमेरमाथि योजनाबद्ध रूपमा दर्जनौं मुद्दा लगाइएको विषय लामो समय सार्वजनिक बहसमा रह्यो। तीमध्ये एउटा पनि अन्ततः ठहर हुन नसक्नुले प्रहरी शक्तिको प्रयोग कसरी गरिएको थियो भन्ने प्रश्न अझै जीवित छ। एउटै व्यक्तिमाथि लगातार मुद्दा हालिनु सामान्य अनुसन्धान प्रक्रिया थियो कि मानसिक र आर्थिक दबाब सिर्जना गर्ने रणनीति-यसको स्पष्ट जवाफ कहिल्यै आएको छैन।
आलोचकहरूकाअनुसार, पोखरेल प्रहरी सेवामा रहँदा कानुन कार्यान्वयनभन्दा शक्ति प्रदर्शनमा बढी केन्द्रित देखिन्थे। सत्य–असत्य छुट्याउनेभन्दा मुद्दालाई बार्गेनिङको औजार बनाइएको आशंका अहिले पनि उठाइन्छ। यिनै कारणले उनलाई ‘विवादित प्रहरी अधिकारी’को छवि लाग्दै आएको छ।
विडम्बना के छ भने, प्रहरी सेवामा रहँदा आलोचना खेपेका पोखरेल आज आफूलाई ‘प्रोजेक्टेड गृहमन्त्री’ का रूपमा प्रस्तुत गर्दै चुनावी प्रचारमा सक्रिय छन्। चुनाव जितिनसक्दै गृहमन्त्रीको दाबी गर्नु राजनीतिक आत्ममुग्धता हो कि सत्ता–लोलुपता भन्ने प्रश्न सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उठ्न थालेको छ।
पोखरेल नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्। उनीभन्दा जुनियर एआईजी धीरजप्रताप सिंह १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि पोखरेलले राजीनामा दिएका थिए। प्रहरी संगठनको सर्वोच्च पदमा पुग्न नसकेको असन्तुष्टि उनको राजीनामाको प्रमुख कारण मानिन्छ।
राजीनामापछि करिब साढे तीन वर्ष गुमनाम रहेका पोखरेल अचानक रास्वपाको टिकट लिएर चुनावी मैदानमा देखिनु आफैंमा अस्वाभाविक मानिएको छ। अझ ओखलढुंगाजस्तो जिल्लाबाट टिकट दिनु पार्टी नेतृत्वको राजनीतिक विवेकमाथि समेत प्रश्न उठाउने कारण बनेको छ।
रास्वपाले ‘पुरानो राजनीति तोड्ने’ दाबी गर्दै आएको छ। तर, प्रहरी सेवाकालमै विवादबाट मुक्त हुन नसकेका पात्रलाई उम्मेदवार बनाउनु त्यो दाबीमाथि सीधा प्रहार भएको विश्लेषकहरूको भनाइ छ। नयाँ आवरणमा पुरानै प्रवृत्ति बोकेर आएको आरोपले रास्वपाको नैतिक धरातल कमजोर बनाउने चिन्ता बढ्दो छ।
आज प्रश्न पोखरेलको व्यक्तिगत महत्वाकांक्षाभन्दा ठूलो बनेको छ- के नयाँ राजनीतिको नाममा पुरानै विवादित अनुहारलाई पुनःस्थापित गर्ने बाटो रोजिँदैछ? यदि हो भने, रास्वपाले फरक राजनीति गर्ने दाबी मतदाताले किन पत्याउने?
