म बर्दी लगाउँछु। त्यही बर्दी, जसलाई देखेर नागरिक ढुक्क हुन्छन्। तर म भित्र-भित्रै कति पटक भाँचिएको छु। त्यो बर्दीले कहिल्यै देखाउन सकेन।
म नेपाल प्रहरीको हवल्दार हुँ। तर आज यो पद गर्वभन्दा पनि
भारी बोझ बनेको छ।
मैले तस्करीविरुद्ध लड्न खोजेँ। सीमामा खुलेआम हुने अवैध कारोबार, लागूऔषध, खाद्यान्न, होटल र कमिसनको खेल सबै भत्काउन खोजेँ।
तर तस्करभन्दा खतरनाक मैले आफ्नै संगठनभित्र भेटेँ। जब म अडिएँ, त्यही दिनदेखि म शत्रु भएँ। तस्करको होइन- आफ्नै बर्दीधारीहरूको।
माथिबाट आदेश आयो- बेनामी उजुरी। न प्रमाण न सुनुवाइ। सात दिन म नजरबन्द भएँ।
अपराधीझैँ,
तर मेरो अपराध के थियो? इमान्दार हुनु?
त्यसपछि सुरु भयो सजाको यात्रा। कहिले टाढाको पोस्ट, कहिले रातको ड्युटी, कहिले “काम गर्न नसक्ने”को आरोप।
मेरो परिवार थियो। आमाले फोनमा सोध्नुहुन्थ्यो- “छोरा, के गल्ती गरिस्?”
मसँग जवाफ थिएन। आँसु मात्रै थियो।
नेतृत्व फेरियो। मलाई लाग्यो- अब सायद न्याय पाइन्छ। केही अड्डा भत्किन्छ।
तर त्यसको मूल्य फेरि मैले नै तिरेँ। फेरि बदनाम भएँ।
मानसिक तनावले मेरो निद्रा खोस्यो। आत्मबल च्यात्यो। अन्ततः म
डिप्रेसनको औषधिमा बाँच्न थालेँ।
बर्दी लगाएको मान्छे रुदैन भन्ने मिथ्या हो। म रोएँ। तर बाथरुममा, अँध्यारो कोठामा, कसैले नदेखिने गरी।
म आज पनि प्रहरी हुँ। तर प्रश्न एउटै छ- यदि इमान्दार प्रहरी नै प्रहरीभित्र सुरक्षित छैन भने यो देशमा न्याय कसले खोज्ने?
यो मेरो कथा होइन। यो मौन बनाइएका धेरै बर्दीधारीहरूको पीडा हो।
र म लेख्दैछु,
किनकि चुप बस्नु भनेको
आफ्नै आत्मालाई तस्करको हातमा सुम्पिनु हो।
लेखक : नेपाल प्रहरीमा हवल्दार पदमा कार्यरत हुनुहुन्छ। यद्यपि नाम गोप्य राखिएको छ।
