काठमाडौं । कुमारी बैंकमाथि ट्याक्स हेभन मुलुकबाट शंकास्पद रूपमा ऋण रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन सुरु गरेको छ।
दुई वर्षअघि बैंकले लिचेस्टाइनस्थित ईएमएफ माइक्रोफाइनान्स फण्ड सँग १ करोड अमेरिकी डलर (करिब १ अर्ब ४० करोड रुपैयाँ) ऋण सम्झौता गरेको थियो। उक्त कम्पनीको आधिकारिक पृष्ठभूमि नखुलेको र कर छली तथा सम्पत्ति शुद्धीकरणकै प्रयोजनका लागि नेपाली लगानीकर्ताले खोलिदिएको हुनसक्ने राष्ट्र बैंक स्रोतको दाबी छ।
उद्देश्य विपन्न वर्गमा कर्जा प्रवाह गर्ने भनिए पनि सोअनुसार कर्जा नदिइएको र तरलता पर्याप्त भएका बेला शंकास्पद कम्पनीसँग ऋण सम्झौता गरिनुमा सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका प्रश्न उठेको छ।
राष्ट्र बैंकले पुरानो कारोबार सेटल भइसकेको बैंकको जवाफ पाए पनि छानबिन नरोकिने जनाएको छ। यस प्रकरणमा तत्कालीन सिईओ रमेशराज अर्याल, वर्तमान सिईओ रामचन्द्र खनाल तथा व्यवस्थापन समूहमाथि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
बैंकको खराब कर्जा ७ प्रतिशत नाघेको, गत वर्षको तुलनामा दोब्बर वृद्धि भएको र अनौपचारिक मूल्यांकनमा १० प्रतिशतसम्म पुगेको हुनसक्ने राष्ट्र बैंक स्रोतको भनाइ छ।
