काठमाडौं । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको नायब महानिरीक्षक (डिआईजी) पदमा बढुवा सिफारिसको तयारी गरेपनि सकिरहेको छैन । राजनीतिक खिचातानीकारण बढुवा हुन नसकेकेको बताइएको छ ।
संगठन प्रमुखले आफूअनुकुल बढुवा गर्न पाएका छैनन् । सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गर्न नसकिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
गत असारदेखि नै प्रहरीमा डिआईजीको पद रिक्त हुँदै गएपनि बढुवा रोकिएको थियो । हाल प्रहरी संगठनमा ८ वटा डिआईजीको पद रिक्त छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणालगायत शीर्ष नेताहरुले आफ्नो गोजीबाट नाम निकाल्दै सिफारिस गर्न दबाब दिएपछि बढुवा प्रक्रिया लम्बिएको हो ।
अझैं तत्काल बढुवा प्रक्रिया अघि बढ्नसक्ने अवस्था नरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।
असारमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डिआईजीमै अवकाश भएका थिए । उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश पाए ।
गत साउनमा उनको ठाउँमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डिआईजीको पद रिक्त भएको थियो । तर, त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकियो ।
त्यस्तै भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए । त्यसको एकहप्तापछि श्यामलाल ज्ञवाली एआईजीबाट अवकाशमा गएपछि रिक्त डिआईजीको संख्या चार पुग्यो ।
एक महिनापछि असोज १४ गते डिआईजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डिआईजीको संख्या पाँच पुगेपनि बढुवालाई झन लम्ब्याइयो ।
कात्तिक ११ गते राजेशनाथ बास्तोलाको अवकाशमा गए डिआईजीको रिक्त संख्या ६ पुग्यो । श्याम ज्ञवालीको ठाउँमा किरण राणा एआईजीमा बढुवा सिफारिस भएपछि ७ जना डिआईजी रिक्त भएको हो ।
किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ । यससँगै नेपाल प्रहरीमा रिक्त डिआईजीको संख्या ८ पुगेको हो ।
तीन टोली प्रतिस्पर्धामा
रिक्त डिआईजीका लागि तीनवटा टोली प्रतिस्पर्धामा देखिएका छन् । प्रहरी महानिरीक्षक बसन्त कुँवरका ब्याचीदेखि २०५४ को टोलीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरू डिआईजी बन्न लबिइङमा लागेका छन् ।
यसमध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डिआईजी बढुवा सिफारिस हुने देखिएको छ । आईजीपी कुँवरका ब्याची कार्यक्षमतामा कमजोर मानिएका ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन् ।
उनीहरू भर्नादेखि एसएसपीसम्म नै अगाडि थिए । त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डिआईजी बन्ने सूचीको प्राथमिकतामा छन् ।
कार्यक्षमता भन्दा पनि आफ्ना व्याची भएकाले यी तीनजनालाई छुटाउन नहुने पक्षमा आईजीपी कुँवर उभिएको स्रोतले बताएको छ ।
यस्तै २०५३ भर्ना भएको टोलीबाट पनि यसपटक डिआईजी बन्नेछन् । यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह र सुशिलसिंह राठौर डिआईजी बन्ने निश्चित छ । उनीहरुभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी डिआईजीका बलिया दाबेदार हुन ।
उनीहरूभन्दा पछाडिका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डीआईजी भइसकेका छन् ।
शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डिआईजीका लागि विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । त्यस्तै डिआईजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टले पनि जोडबल लगाइरहेका छन् ।